पिएनसिसी को संयोनमा टेलिमेडिसिन सेवा विषयक सचेतनामूलक कार्यक्रम सम्पन्न
क्वालालम्पुर । मलेसियाको निलाई क्षेत्रमा टेलिमेडिसिन सेवा विषयक सचेतनामूलक कार्यक्रम बिहीबार सम्पन्न भएको छ। पिएनसिसि मलेसियाको संयोजनमा निलाई क्षेत्रमा कार्यरत नेपाली श्रमिकहरूको सहभागितामा कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा वैदेशिक रोजगार बोर्डले वीर अस्पतालसँगको समन्वयमा प्रवासी श्रमिकहरूका लागि विद्युतीय माध्यममार्फत प्रदान गर्दै आएको टेलिमेडिसिन सेवा बारे विस्तृत जानकारी दिइएको थियो। टेलिमेडिसिन सेवा अन्तर्गत प्रवासी श्रमिकहरूले आफ्नो स्वास्थ्य समस्याअनुसार सम्बन्धित चिकित्सकसँग अनलाइनमार्फत स्वास्थ्यसम्बन्धी सुझाव, सल्लाह, उपचार तथा परामर्श सेवा लिन सक्ने व्यवस्था रहेको छ।
नेपाली समयअनुसार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म WhatsApp, Viber, Imo र Botim जस्ता माध्यम प्रयोग गरी यो सेवा लिन सकिनेछ। निःशुल्क रूपमा उपलब्ध यस सेवाका लागि ००९७७–९८५१३४५७०१ वा ००९७७–९८५१३४५७०२ नम्बरमा सम्पर्क गर्न सकिने जानकारी दिइयो।
वैदेशिक रोजगार बोर्डको संयोजनमा वीर अस्पतालले सञ्चालन गर्दै आएको टेलिमेडिसिन सेवा मलेसियामा कार्यरत धेरैभन्दा धेरै नेपाली श्रमिकसम्म पुर्याउने उद्देश्यले यो सचेतनामूलक कार्यक्रम आयोजना गरिएको कार्यक्रमका सहजकर्ता जीवन देवानले जानकारी दिनुभयो।
पिएनसिसि मलेसियाका संयोजक पूर्ण सूब्बाको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रमको व्यवस्थापन रेखा लिङ्दमले गर्नुभएको थियो।

