गैर आवासिय नेपाली संघ(NRNA) मलेसिया ले श्रमिक दिवस तथा नेपाल नयाँ बर्ष २०८३ शुभकामना आदान प्रदान कार्यक्रम गर्दै !
तिलोचन गौतम-क्वालालम्पुर,
गैर आवासीय नेपाली संघ (NRNA) मलेसियाले अन्तर्राष्ट्रिय श्रमिक दिवस तथा नेपाली नयाँ वर्ष २०८३ को अवसरमा विशेष शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गर्ने भएको छ।
संघले हरेक वर्ष आयोजना गर्दै आएको यस कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिँदै मे १ तारिख, अन्तर्राष्ट्रिय श्रमिक दिवसकै अवसर पारेर होटल ग्राण्ड कन्टिनेन्टलको सभाहलमा आयोजना गर्न लागिएको हो।
गैर आवासीय नेपाली संघ (NRNA) मलेसियाका महासचिव बिष्णु प्रसाद बरालका अनुसार कार्यक्रममा मलेसियामा कार्यरत नेपाली श्रमिक, व्यवसायी, समाजसेवी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ। कार्यक्रममार्फत नेपाली समुदायबीच आपसी सम्बन्ध सुदृढ बनाउने, श्रमिकहरूको योगदानको कदर गर्ने तथा नयाँ वर्षको अवसरमा शुभकामना आदान–प्रदान गर्ने उद्देश्य राखिएको छ।आयोजकका अनुसार दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने कार्यक्रममा अन्तरक्रियात्मक गतिविधिहरू, विविध सांस्कृतिक प्रस्तुति तथा शुभकामना आदान–प्रदान कार्यक्रमहरू समावेश गरिने भएका छन ।
