सहयोग धनले होईन,मनले गरिन्छ भन्दै अध्यारोमा उज्यालो बने राज लामा

मोरङ,बेलबारी नगरपालिका वडा नं. ६ निवासी कैला खवासको परिवार लामो समयदेखि विद्युत् सेवाबाट वञ्चित रहँदै आएको अवस्थामा समाजसेवीहरूको सामूहिक प्रयासबाट अन्ततः घरमा बत्ती बालिएको छ। करिब १० वर्षदेखि अन्धकारमा बस्न बाध्य उक्त परिवारका लागि यो उपलब्धि आशाको उज्यालो बनेको छ।
समाजसेवी राज लामाको अग्रसरता र समन्वयमा परिवारलाई खाद्यान्न तथा आर्थिक सहयोग प्रदान गर्नुका साथै खानेपानी र विद्युत् सेवा समेत उपलब्ध गराइएको हो। सहयोगका क्रममा परिवारले विद्युत् अभावका कारण दैनिक जीवनमा भोग्नुपरेका कठिनाइ र स्थानीय सरकारबाट अपेक्षित सहयोग नपाएको गुनासो व्यक्त गरेका थिए।

घरदेखि करिब ३०० मिटर टाढासम्म विद्युत् लाइन विस्तार गर्न कालो तार, ट्रान्समिटर, मिटर जडान तथा अन्य सामग्री आवश्यक परेको थियो। ठूलो आर्थिक भार पर्ने भएकाले परिवार स्वयंले उक्त खर्च व्यहोर्न नसक्ने अवस्था रहेको थियो। यस विषयमा लामो समयदेखि समाजसेवामा सक्रिय तथा प्रवासी नेपाली सम्पर्क विभाग, मलेसियाका केन्द्रीय सदस्य समेत रहेका राज लामाले विभागका सभापति नेत्र केसीसँग सल्लाह गरेपछि समाधानको बाटो खुलेको हो।
सभापति केसीको सकारात्मक पहलपछि सम्पूर्ण आवश्यक खर्च मलेसियाबाट उपलब्ध गराइएको थियो। यसअघि राज लामाका आत्मीय मित्र टंक खड्का र प्रकाश केसीको सहयोगमा खानेपानीको व्यवस्था गरिएको थियो भने निरन्तर प्रयासपछि हाल विद्युत् सेवा सफलतापूर्वक जडान गरिएको छ।
हाल राज लामा प्रदेश बाहिर रहनु भए पनि उहाँले प्रवासी नेपाली सम्पर्क विभागका सभापति, केन्द्रीय टिम तथा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबैप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ। साथै भौतिक सहयोग उपलब्ध गराउनु हुने राजु मगर, निरु तामाङ, बिचारी गुरुङ लगायत सबै सहयोगी दाताहरूलाई विशेष आभार प्रकट गर्नुभएको छ।

समाजसेवीहरूको यस सानो तर प्रभावकारी प्रयासले पीडित परिवारको जीवनमा नयाँ उत्साह र आशा थपिएको छ। उज्यालोसँगै परिवारको अनुहारमा देखिएको खुशीले आगामी दिनमा अझ धेरै सामाजिक सेवामा लाग्न प्रेरणा मिलेको सहयोगीहरूको भनाइ छ।
यस कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नु हुने सम्पूर्ण मनकारी हातहरूलाई धन्यवाद दिँदै समाजसेवीहरूले भनेका छन् ।
