तामाङ घेडुङ मलेसिया र शेर्पा संघ मलेसिया ले संयुक्त रुपमा ल्होछार कार्यक्रमको आयिजना गर्ने

बिन्दु दर्लामी मगर,
क्वालालम्पुर । तामाङ समुदायले मनाउने सोनाम ल्होछार र शेर्पा समुदायले मनाउने घ्याल्बो ल्होछार यस वर्ष मलेसियामा संयुक्त रूपमा मनाइने भएको छ। प्रवासमा रहेर पनि मौलिक संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्दै सांस्कृतिक एकताको बलियो सन्देश दिन दुवै समुदायबीच आपसी सहकार्यमा कार्यक्रम आयोजना गर्न लागिएको हो।
आयोजक समितिका अनुसार ल्होछार कुनै एक समुदायको मात्र पर्व नभई सम्पूर्ण ल्होछार मनाउने बौद्ध मार्गी समुदायको साझा चाड भएकाले संयुक्त रूपमा मनाउने निर्णय गरिएको हो। यस पहलले जातीय विविधताभित्रको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई अझ मजबुत बनाउने विश्वास लिइएको छ।
संयुक्त ल्होछार कार्यक्रममा मौलिक सांस्कृतिक नृत्य, परम्परागत भेषभूषा, भाषा–संस्कृति झल्किने प्रस्तुति, शुभकामना आदान–प्रदानलगायत विविध सांस्कृतिक कार्यक्रम समावेश गरिने तयारी गरिएको छ। प्रवासमा रहेका नयाँ पुस्तालाई आफ्नो संस्कार, भाषा र पहिचानप्रति गर्व गर्न प्रेरित गर्नु कार्यक्रमको प्रमुख उद्देश्य रहेको शेर्पा संघ मलेसियाका अध्यक्ष ङावाङ नुरी शेर्पाले बताए।
आयोजकहरूले ‘ल्होछार फुटेर होइन,जुटेर मनाउनुपर्छ’ भन्ने सन्देशलाई व्यवहारमै उतार्दै सांस्कृतिक सहअस्तित्व र सामूहिक पहिचानको उदाहरण प्रस्तुत गर्न खोजेका छन्। यस प्रकारको संयुक्त कार्यक्रमले मलेसियामा रहेका सम्पूर्ण नेपाली समुदायबीच आपसी समझदारी,एकता र भाइचारा थप प्रगाढ बनाउने अपेक्षा गरिएको छ।
कार्यक्रमको मिति, स्थान तथा थप विवरण छिट्टै सार्वजनिक गरिने आयोजक समिति द्वारा जानकारी गरिएको छ ।
