सोनाम ल्होछार तथा ग्याल्पो ल्होछार विशेष कार्यक्रममा नेपालबाट अतिथि कलाकार मलेसिया आईपुगे – तयारी पूरा
बिन्दु दर्लामी मगर
क्वालालम्पुर, मलेसिया — नेपाल तामाङ घेदुङ मलेसिया र शेर्पा संघ मलेसियाको संयुक्त आयोजनामा भोलि १७ फेब्रुअरी २०२६ बिहान १० बजे Hotel Grand Continental Kuala Lumpurमा आयोजना हुने सोनाम ल्होछार तथा ग्याल्पो ल्होसार विशेष सांस्कृतिक कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।

नेपालबाट आमन्त्रित चर्चित कलाकारहरू विश्व डोङ, लामु शेर्पा, तेन्जिङ शेर्पा, सुनिता लुङ्बा तथा निम लामा मलेसिया आईपुगेका छन्। उनीहरूले कार्यक्रममा विशेष सांगीतिक तथा सांस्कृतिक प्रस्तुति दिनेछन्। पारम्परिक तामाङ सेलो, शेर्पा सांस्कृतिक गीत, मौलिक नृत्य तथा विभिन्न जातीय झाँकी कार्यक्रमका मुख्य आकर्षण रहने बताइएको छ।

कार्यक्रममा मलेसियास्थित विभिन्न नेपाली संघ–संस्था, समाजसेवी, व्यवसायी तथा समुदायका प्रतिनिधिहरूको समेत उपस्थिति रहने अपेक्षा गरिएको छ। आयोजकका अनुसार, कार्यक्रममा नेपाली पहिचान झल्काउने भेषभूषा प्रदर्शनी, सांस्कृतिक झाँकी, सम्मान कार्यक्रम तथा सामूहिक शुभकामना आदान–प्रदान कार्यक्रम समेत समावेश गरिएको छ।

सोनाम ल्होछार र ग्याल्पो ल्होसार हिमाली तथा जनजाति समुदायका महत्वपूर्ण सांस्कृतिक पर्व हुन्। नयाँ वर्षको स्वागतसँगै पारिवारिक एकता, आपसी सद्भाव र समृद्धिको कामना गर्ने परम्परा यस पर्वसँग जोडिएको छ। प्रवासमा रहेका नेपालीहरूबीच आफ्नो मौलिक संस्कृति जोगाइ राख्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकको छ।आयोजक समितिले मलेसियामा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई समयमै उपस्थित भई कार्यक्रमलाई भव्य तथा सभ्य रूपमा सफल बनाउन पुनः हार्दिक अनुरोध गरेको छ।
