क्वालालम्पुर(मलेसिया) = मलेसियाली अध्यागमन विभाग “इमिग्रेशन”ले मानव तस्करी तथा नक्कली कागजात बनाउने ठूलो गिरोहलाई पक्राउ गरि सिण्डिकेट ध्वस्त पारेको छ। करिब सात वर्षदेखि मलेसियामा सक्रिय उक्त गिरोहले अवैधानिक कामबाट कम्तीमा आरएम १०० मिलियन रिंगेट पैसा आम्दानी गरेको अनुमान गरिएको छ।

विभागले “ओप्स सेरकाप” नामक विशेष अपरेशनअन्तर्गत अप्रिल १३ र १४ मा क्लाङ भ्यालीका ६ स्थानमा छापा मार्दा २६ देखि ६१ वर्ष उमेर समूहका ९ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ३ नेपाली, ३ भारतीय, १ बंगलादेशी, १ मलेसियाली र १ भियतनामी महिला (स्थायी बसोबास अनुमति प्राप्त) रहेका छन्।

अध्यागमन विभागका अनुसार एक ४३ वर्षीय नेपाली युवक महेन्द्रजंग शाह “एम-जे” नामक नेपाली पुरुष उक्त गिरोहको मुख्य योजनाकार रहेको पाइएको छ। साह नेपाली ब्यावसायीसंगै गैर आवासीय नेपाली संघ “एनआरएनए” मलेसियाका पुर्व अध्यक्ष समेत हुन।

अध्यागमनका अनुसार उनी यसअघि सन् २०१६ मा रोयल मलेसिया पुलिस काउन्टर टेरोरिजम डिपार्टमेन्टद्वारा पक्राउ परेका थिए। प्रारम्भिक अनुसन्धानले देखाएअनुसार उक्त गिरोह सन् २०१९ देखि विदेशी कामदार ल्याउने एजेन्टको रूपमा काम गर्ने बहानामा रोजगारदातालाई ठगी गर्दै आएको थियो।

उनीहरूले प्रति कामदार आरएम ५ हजारदेखि आरएम ६ हजाररिंगेटसम्म असुल्ने गरेका थिए। तर वैधानिक प्रक्रिया पूरा गर्नुको सट्टा नक्कली ई-पास स्लिप र स्टिकर उत्पादन गरी प्रयोग गर्ने र अवैध रूपमा विदेशी नागरिक भित्र्याउने कार्यमा संलग्न रहेको खुलासा भएको छ।

कारबाहीका क्रममा १११ विदेशी पासपोर्ट, १० ल्यापटप, ६ मोबाइल फोन र आरएम ३,९५० रिंगेट नगद बरामद गरिएको छ। विभागले विदेशी कामदारसम्बन्धी प्रक्रिया गर्न कुनै पनि एजेन्ट नियुक्त नगरेको स्पष्ट पार्दै रोजगारदातालाई सिधै विभागसँग सम्पर्क गर्न आग्रह गरेको छ।

साथै, घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको र थप ६ जनालाई बयानका लागि बोलाइएको जनाएको छ। घटनाबारे अध्यागमन कानुन तथा सम्पत्ति शुद्धीकरण र आतंकवाद वित्तीयकरणसम्बन्धी कानुन अन्तर्गत अनुसन्धान भइरहेको छ। दोषी ठहरिए संलग्न व्यक्तिहरूलाई १० लाख रिङ्गिटसम्म जरिवाना र १५ वर्षसम्म कैद सजाय हुन सक्ने जनाइएको छ।